जसपाका चार सांसदले लुम्बिनीमा हुने राष्ट्रिय सभा निर्वाचनमा मत खसाल्न पाउने



काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत सोमबार हुने राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्यले पनि मतदान गर्न पाउने भएका छन् । जसपाको अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै कारबाही गरेपछि उनीहरूको प्रदेश सभा सदस्य पद रिक्त भएको थियो । तर, सर्वोच्च अदालतले प्रदेशसभा सदस्यहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्यबाट मुक्त गरिएको निर्णय कार्यान्वयन नर्गन अन्तरिम आदेश दिएको थियो ।
निर्वाचनको अन्तिम नामावली प्रकाशन भइसकेकाले उनीहरूले मतदान गर्न पाउने–नपाउने अन्यौल थियो । तर, आयोगले निर्वाचनको अघिल्लो दिन ४ जनाले पनि मतदान गर्न पाउने निर्णय गरेको हो । उक्त सुचना प्रदेश निर्वाचन कार्यालयमा टाँसिएको छ ।
यससँगै निर्वाचनामा प्रदेश सभा सदस्य ८३ जना र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ जनागरी जम्मा ३०० मतदाताले निर्वाचनमा भाग लिन पाउने छन् ।
उक्त निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनकातर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । निर्वाचनको समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेका लागि तोकिएको छ । निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट भोलि नै सार्वजनिक गरिने सहायक निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्