श्रेष्ठ भन्छन्: ‘कोरोनाले मलाई नराम्रैसँग पछार्यो, निक्कै बलियो रहेछ बजिया’



काठमाडौं– बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना आफूलाई जित्न नसकेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै दर्शकको माया, शुभेक्षा, प्रार्थना, र आशिर्बादको बलले आफूले कोरोनामाथि विजय पाएको बताएका छन् ।

उनले आफ्नो स्वास्थ्य प्रति चिन्ता ब्यक्त गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

उनी भन्छन्– ‘मलाई माया, शुभेक्षा र आशिर्बाद बर्षाउँदै,मेरो स्वास्थ्य प्रति चिन्ता ब्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता, नर्श, डक्टर अनि पृथ्वी भरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा, मेरो हृदयदेखि कृतज्ञता ब्यक्त गर्दछु। यहांँहरुको आशिर्बाद लाग्यो मलाई।’
अमृतमय मायाको बलले कोरोनारुपी बिषलाई मज्जाले पचाएको उनले उल्लेख गरेका छन् ।

उनी भन्छन्– ‘कोरोनाले मलाई पछार्न त नराम्रै संगै पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो्, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेललामा तर्सायो पनि। बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया … ।’

उनले कोरोनाले आफूसँग माफि मागेको पनि उल्लेख गरेका छन् ।

‘पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कानसमातेर १० पल्ट उठ् बस गरेर ह्वाँ… ह्वाँ … रुंदै मसंग क्षमा मागेर लुसुक्क भाग्यो ।’

आफ्नो स्वास्थ्य सुधार हुँदै गएको पनि उनले जानकारी दिएका छन् । कोरोना संकमण भएपछि उनी ८ दिन मेडिसिटी हस्पिटलमा बसेर घर फर्किएका थिए । पछि उनको स्वास्यमा थप जटिल बनेपछि उनलाई पुनः अस्पलातमा भर्ना गरिएको थियो । उनी १४ दिन अस्पलात बसेर घर फर्किएको एक हप्ता भएको पनि उनले जानकारी गराएका छन् ।

उनी भन्छन्– ‘डक्टरहरुले मलाई तपाईको शरिर अब एन्टिबडी बनीसकेको छ। अब तपाईको शरिरमा अरु कसैबाट पनि कोरोना भाईरस सर्दैन र तपाईँबाट पनि अरुलाई सर्दैन । एक प्रकारले भाय्कसिन लिईसकेको सरह नै भैसकेको छ भनेका छन् ।’

उनले आफ्नो पीसीआर रिपोर्ट नेगेटिभ आएको खबर सबैलाई सुनाउनका लागि चुपचाप बसेको पनि जिकिर गरेका छन् । घरको सबै परिवारको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनले बताएका छन् ।

उनी भन्छन्– ‘मेरोमा अझै अलि पोजेटिभ बाँकी रहेको देखाएको छ । डक्टरहरुको भनाई अनुसार मेरो शरिरमा भएका कोरोनाको भाईरसहरु सबै मरिसकेका छन् । अब खालि ती मरेका भाईरसका लाशहरु मात्र बाकी छन। त्यो बाँकि हुन्जेल पनि मेशिनले पोजेटीभ नै देखाउँछ। त्यस्ले केहि फरक पर्दैन ,केहि दिन पछि त्यो पनि आफै जान्छ भनेका छन् ।’

‘कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यस्लाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला शायद यहाँहरु जस्तो मलाई औधि माया गर्नु हुने लाखौँ लाख शुभेक्षकहरुपनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा’– उनी थप लेख्छन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम रहेकाले मनमा अझै पनि पूरा खुशी नलागेको उनले बताएका छन् । उनले जनताको जिवन रक्षाको लागि सरकारसँग अपिल पनि गरेका छन् ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FyourMadanKrishnaShrestha%2Fposts%2F346771106807117&show_text=true&width=500

प्रतिक्रिया दिनुहोस्