स्वास्थ्यकर्मीमाथिको कुटपिट प्रकरण : प्रतिवेदनले औल्यायो अस्पतालकै कमजोरी



दाङ : बाँकेस्थित नेपालगन्जको भेरी अस्पतालमा गत जेठ १३ गते डाक्टर र नर्समाथि भएको आक्रमण तथा अस्पताल तोडफोड घटनाबारे सत्यतथ्य बुझ्न गठित समितिले ‘सुटुक्क’ प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार गर्नुपर्नेजस्ता बुँदा पनि समावेश छन् ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार छानविन समितिले बुझाएको प्रतिवेदन बुधबार बेलुका सार्वजनिक गरिएको हो, जसमा घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कारबाही माग गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । उक्त समितिले २५ पृष्ठ लामो प्रतिवेदन दिएको छ । प्रतिवेदनमा भेरी अस्पतालमा कर्मचारीको पदपूर्ति गरिनु पर्ने कुरासमेत अटाएका छन् ।

स्वास्थ्यकर्मीमाथि कुटपिटपछि यो घटनालाई लिएर चौतर्फी विरोध भएको थियो भने स्वास्थ्यकर्मीहरूले सुरक्षाको वातावरण हुनुपर्ने मागसहित प्रदर्शन गरेका थिए । सार्वजनिक भएको प्रतिवेदनले उल्टै अस्पताल प्रशासनको कमजोरी औंल्याएकोमा स्वास्थ्यकर्मीहरू भने आक्रोशित भएका छन् ।

यो घटनामा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । कोरोना संक्रमणपछि उपचार गराइरहेका उनका दाजु डिल्लीबहादुर रावतको निधनपछि डाक्टर र नर्समाथि अस्पतालभित्रै कुटपिट भएको थियो ।

छानविन समितिकी एक सदस्य, नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसीले प्रतिवेदन तयार पार्ने क्रममाः ‘सुनियोजित नभएर उत्तेजनामा आएर घटना भएको भन्ने शब्द राखेपछि आफूले १५ मिनेट प्रतिवाद गरे पनि नसुनिएको’ बताइन् ।

घटनाबारे सत्यतथ्य बुझ्न बनेको समितिले गुपचुप रूपमा अस्पतालकै कमजोरी औंल्याएको छ । प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई ज्यान मार्ने उद्योग र कोरोना महामारी संक्रामक रोग अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्