जसपाका सरकारमा जाने तय, आजै शपथको सम्भावना



काठमाडौं : जनता समाजवादी पार्टीबाट तत्काल पाँच जना सरकारमा सहभागी हुने भएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा आज भएको शीर्ष नेताबीचको छलफलमा यो टुंगो लागेको हो । पाँचै जनाले आजै शपथग्रहण गर्ने सम्भावना रहेको जसपा स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष महन्थ ठाकुर राति अबेरसम्म वार्ता गरेका थिए । वार्तामा प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन पुनः आग्रह गरेका थिए । त्यस क्रममा ठाकुर र ओलीबीच समसामयिक राजनीतिक विषयसँगै मन्त्रालयको बाँडफाँटका विषयमा छलफल भएको थियो । जसपाले आठ मन्त्री र दुई राज्यमन्त्री गरी १० मन्त्रालय पाउने पक्कापक्कीजस्तै छ ।

जसपा स्रोतका अनुसार वरिष्ठ नेता उपप्रधानमन्त्रीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शरतसिंह भण्डारी उर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालय, अनिलकुमार झा सहरी विकास मन्त्रालय, विमलकुमार श्रीवास्तव खानेपानी मन्त्रालय र उमाशंकर अरगरिया युवा तथा खेलकूद मन्त्रालय सम्हाल्ने तय भएको छ । तत्काल पाँच जना मन्त्री सहभागी हुने छन् । एक दुई दिनमै केही थप मन्त्री सहभागी हुने र मन्त्रालय परिवर्तन हुनसक्ने बताइएको छ । पाँच जनाको भने आजै शपथग्रहण हुने सम्भावना रहेको एक नेताले बताए । अन्य पाँच जनाको नाममा छान्न शीर्ष नेताहरुले छलफल गरिरहेका छन् । मन्त्री बन्ने आकांक्षी धेरै जना रहेकाले छान्न नेताहरुलाई सकस भएको छ । फेरि लामो समयपछि सरकारमा सहभागी हुने अवसर आएकोले पनि नेताहरुमा मन्त्री बन्ने आकांक्षा बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्