महन्थ ठाकुर पनि हाम्रै राजनीतिक लाइनमा आउनुभयो : मन्त्री त्रिपाठी



परासी । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ताबारे कुनै पक्षसँग छलफल नभएको बताएका छन् । जनता सामाजवादी पार्टीका नेता महन्थ ठाकुर समूहसँग मिलेर नयाँ पार्टी दर्ता गर्न लागेको भन्नेबारेको चर्चा निराधार हल्ला भएको मन्त्री त्रिपाठीको भनाइ छ ।
शुक्रबार गृह जिल्ला पश्चिम नवलपरासीमा पत्रकारहरुसँग कुरा गर्दै पुगेका मन्त्री त्रिपाठीले भने,‘नयाँ दल दर्ताबारे महन्थजीसँग कुनै छलफल र कुराकानी भएको छैन । यो कपोकल्पित र निराधार कुरा मात्र हो ।’
स्वतन्त्र राजनीतिक समूहका संयोजक समेत रहेका त्रिपाठीले महन्थ ठाकुर समूहसँग आफ्नो समूह मिलेर नयाँ पार्टी खोल्ने होइन बरु उहाँहरु नै आफूले अंगिकार गरेको राजनीतिक लाइनमा आएको दाबी गरे ।
‘मलाई तत्कालीन एमालेसँग गठबन्धन गर्दा विभिन्न आरोप लगाउने उपेन्द्र र महन्थजीहरु पालैपालो आउन थाल्नु भएको छ । पहिला १९ महिना सरकारमा बसेर उपेन्द्रजीलाई बिदाइ गरे । अब १/२ दिनमा महन्थजी पनि सरकारमा आउँदै हुनुहुन्छ । उहाँलाई स्वागत गर्छु । यसले मेरो नैतिक र राजनीति विजयी भएको छ,’ मन्त्री त्रिपाठीले भने ।
आफ्नो लाइनले राजनीतिक नेतृत्वको दुरदर्शितालाई पुष्टि गरिसकेकाले अब छिट्टै नयाँ दल दर्ता गर्ने मन्त्री त्रिपाठीको भनाइ छ । ‘हाम्रो नयाँ दल दर्ता भइसक्थ्यो संक्रमणले गर्दा ढिलो भएको हो । अवस्था सामान्य भएपछि दल दर्ता गर्छौ,’ मन्त्री त्रिपाठीले भने ।

प्रतिक्रिया दिनुहोस्