अहिलेको राजनीतिक संकट सुझबुझपूर्ण तरिकाले समाधान हुने नेपाली सेनाको विश्वास



काठमाडौँ । प्रधानसेनाापति पूर्णचन्द्र थापाले अहिलेको राजनीतिक संकट राजनीतिक बाटोबाटै सुझबुझपूर्ण तरिकाले समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानसेनापति थापाले अहिलेको राजनीति परिस्थितिबाट भोली उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीबारे नेपाली सेना सचेत रहेको बताए । जंगी अड्डामा आफ्नो कार्यकालको १००० दिन पुगेको अवसरमा आइतबार सञ्चारमाध्यमसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधान सेनापति थापाले संविधानले नै सेनालाई राष्ट्र रक्षाको जिम्मेवारी दिएकोले अहिलेको राजनीतिक अवस्थाबारे नेपाली सेना जानकार रहेको उल्लेख गरे ।
उनले राजनीतिक समस्याको संवैधानिक निकास नै होस् भनी आफूले चाहेको बताउँदै भने, ‘हामी अहिलेको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ ।’
उनले राजनीतिक विषयभन्दा सेना बाहिर रहेको बताउदै कुनै पनि समस्याको हल विधि पद्दति अनुसार खोज्नुपर्ने बताए ।
प्रधानसेनापति थापाले सरकारसँगको वार्तापछि विप्लव समूह शान्तिपूर्ण मूल राजनीतिमा आउने संकेत रहेको उल्लेख गरे । नेपाली सेनालाई जहिले पनि सुरक्षा चुनौति आउने बताउँदै समाजमा कसैले द्वन्द फैलाउन खोज्छ भने अन्य सुरक्षा निकाय, मिडिया र आम नागरिकको सहयोगमा त्यसलाई परास्त गर्न सकिने बताए । उनले विप्लव समूह भविष्यमा द्वन्द्वमा नजाने पनि विश्वास व्यक्त गरे ।
उनले सेनालाई कमजोर नसम्झन र विगतमा सेनाको गौरवपूर्ण इतिहास सम्झन पनि अनुरोध गरे ।
उनले आफ्नो १००० दिनको कार्यकालबाट आफूलाई पछुतो नरहेको पनि बताए । उनले आगामी भदौ २६ मा आफ्नो अवकाश हुने र अहिल्यैदेखि त्यसको तयारी सुरु भएको पनि बताए ।
उनले सेना हिरोइजम देखाउने ठाउँ नभएको र आफूले पनि ठाउँ नपाएर हिरोइजम नदेखाएको नभई हिरोइजम युद्धभूमिमामात्र ठीक हुने बताए । ‘मैले हिरोइजम देखाउने ठाउँ नभएर हिरोइजम नदेखाएको होइन,’ उनले भने ।
त्यस्तै, उनले सीमामा जाने आफ्नो अधिकार नहुने र सीमाका गतिविधिहरुलाई नियालिरहेको बताए । ‘सीमामा जाने हाम्रो अधिकार हुँदैन । तर निश्चित अवस्थामा मात्र सेना सीमामा जान्छ । तर, त्यहाँका गतिविधिहरुलाई नियालिरहेका छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्