२०७४ पछि नेपाली काँग्रेस पहिलो पटक प्रदेश सरकारमा



सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ । आइतबार पार्टीको तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले शपथ लिएका छन् । २०७४ को निर्वाचनपछि नेपाली कांग्रेस पहिलोपटक सरकारमा गएको हो ।
जलस्रोत तथा उर्जा विकासमन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसीले शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुखले शनिबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । अब कर्णाली सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित ३ जना, कांग्रेसका २ जना र एमालेबाट ‘फ्लोर क्रस’ गरेका ३ जनाको सहभागिता भएको छ ।
सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णालीमा माओवादी–कांग्रेस सत्ता समीकरण सम्भव भएको हो । वैशाख ३ गते मुख्यमन्त्री शाहीले प्रस्तुत गरेको विश्वासको प्रस्तावमा कांग्रेसले समर्थन गरेको थियो । एमालेका समेत ४ जनाले ‘फ्लोर क्रस’ गर्दै विश्वासको मत दिएपछि शाही नेतृत्वको सरकार जोगिएको थियो । विश्वासको मत लिएको भोलिपल्ट मुख्यमन्त्री शाहीले फ्लोर क्रस गर्नेमध्ये ३ जनालाई मन्त्री नियुक्त गरे पनि कांग्रेस सरकारमा गएको थिएन ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले २०७४ को निर्वाचनपछि कर्णालीबाट कांग्रेसले सत्तारोहण सुरु गरेको बताए ।
हाल ३५ सदस्य रहेको प्रदेश सभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । कांग्रेस सत्ताधारी भएसँगै सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित हुने करिब निश्चित भएको छ । कांग्रेस संसदीय दलका नेता शाहीले सत्ता साझेदारी गरेपछि कांग्रेसको समेत सहभागितामा नीति तथा कार्यक्रम र बजेट आउने र त्यसले जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्