कोरोना नियन्त्रणमा नेपाल–भारतका अधिकारीबीच साझा प्रयासमा जोड



विराटनगर । नेपाल र भारतका सुरक्षा अधिकारीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आपसी सहकार्य एवम् साझा प्रयासमा जोड दिएका छन् ।
दुई देशका अधिकारीबीच आइतबार सम्पन्न भएको सुरक्षा बैठकमा कोरोनाका कारण निम्तिएको मानवीय संकटका सवालमा गम्भीर छलफल भएको छ । छलफलबाट दुई देशको साझा प्रयासबिना कोरोनाविरुद्धको लडाइँमा सफलता प्राप्त गर्न नसकिने निष्कर्ष निस्किएको छ । भर्चुअल माध्यमबाट बैठकमा सहभागिता जनाएका दुवै देशका सुरक्षा अधिकारीले कोरोना नियन्त्रण अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरेका छन् ।
बैठकमा नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का, सशस्त्र प्रहरी प्रमुख एसपी तीर्थ पौडेल तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी प्रमुख एसपी कमल थापा र सशस्त्र प्रहरी प्रमुख माधव पौडेल सहभागी भएका थिए ।
भारतका तर्फबाट मोरङ र सुनसरीसँग सीमा जोडिएको बिहार राज्यको अररिया जिल्लाका सुरक्षा अधिकारी बैठकमा सहभागी थिए । बैठकमा भारतको तर्फबाट अररिया जिल्लाका डीएम (जिल्ला प्रमुख) प्रशान्त सी.एच र एसपी हृदयकान्त पनि उपस्थित थिए ।
बैठकमा कोरोना नियन्त्रणका सवालमा देखिएका समस्या र चुनौतीका विषयलाई लिएर गहन छलफल भएको छ ।
यस्तै कोरोना थप फैलन नदिन दुई देशीय सीमा नाकामा थप कडाइ गर्ने, सीमा क्षेत्रबाट भइरहेको आवतजावतलाई पूर्ण रुपमा नियन्त्रणमा लिएर शून्यमा झार्ने, कोरोना नियन्त्रणका लागि आपसी सहयोग र सहकार्यलाई कायम राख्दै साझा प्रयासमा जोड दिने, आवश्यकता अनुसार सूचना आदानप्रदान गर्ने, सीमा कडाइलाई यथावन राख्ने लगायतका विषयमा सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्