लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै



बुटवल : लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्दै छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नका लागि सिफारिस गरेको थियो ।

दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता एवं आार्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए । नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई उकास्ने, पुराना र अधुरा योजनाको निरन्तरतालाई प्राथमिकतामा राखिएको प्रवक्ता चौधरीले बताए । ‘यसपटक खासै नयाँ कार्यक्रम हुने छैनन्, मूलरूपमा कोरोना नियन्त्रण, कोरोनाले अर्थमन्त्रमा पारेको असर न्यूनीकरण गर्ने गरी नीति तथा कार्यक्रम आउँछ’–प्रवक्ता चौधरीले भने ।

विपक्षी दलहरुले नीति तथा कार्यक्रमपछि विनियोजन विधेयक पेश गर्नुपर्नेमा पहिल्यै विनियोजन विधेयक पेश गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकार अल्पमतमा परेकाले संसद छलेर अध्यादेशबाट बजेट ल्याउने नियतले नीति तथा कार्यक्रम अगावै विनियोजन विधेयक ल्याइएको विपक्षी दलहरुको आरोप छ । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभाका ८३ जना सांसदमध्ये सत्ता पक्षका उम्मेदवारले ४० मत मात्र पाएका थिए । सोही आधारमा विपक्षी दलहरुले अल्पमतमा परेको भन्दै मुख्यमन्त्रीको राजीनामा वा बहुमत सिद्ध गर्न विश्वासको मत लिन माग गर्दै आएका छन् । सरकारका प्रवक्ता चौधरीले भने सरकार बहुमतमै रहेकाले संसदबाटै बजेट ल्याउने दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्