सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत



धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाको विश्वास मत पाएका छन् । उनले कुल ५२ सदस्यीय प्रदेश सभामा ३० मत पाएका छन् ।

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिएको थियो । ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । एमालेका २४ मध्ये माधवकुमार नेपाल पक्षका १७ जना छन् ।

कुल ५२ मतमध्ये ५१ जना मतदानमा सहभागी भएका थिए । मुख्यमन्त्री भट्टको पक्षमा ३० मत परेको थियो भने विपक्षमा ९ मत परेको थियो । यस्तै १२ जना मतदानमा सहभागी भएनन् । माओवादी केन्द्र र एमालेका माधव नेपाल समूहको मतले मात्रै पनि भट्टलाई आवश्यक संख्या पुगेको छ ।

एमालेका २४ मध्ये माधव नेपाल/भिम रावलपक्षका १७ जना सांसदले मुख्यमन्त्रीलाई मत दिएका छन् । भिम रावलको प्रभावक्षेत्र रहेको प्रदेशमा ७ जनामात्र ओली पक्षका सांसद छन् । ओलीपक्षीय ७ र जसपाका २ सांसदले विपक्षमा मत हालेका हुन् । काँग्रेसका १२ जना तटस्थ बसेर मतदानमा सहभागी भएका थिएनन् । मतदान सम्पन्न भएपछि प्रदेश सभा बैठक स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्