विपक्षी गठबन्धनको बहिष्कारबीच लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत



बुटबल । विपक्षी गठबन्धनको बहिष्कारबीच लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले संविधान विपरित काम गरेको भन्दै विपक्षी गठबन्धनका सांसहरुले बैठक बहिष्कार गरेका हुन । प्रदेश प्रमुख यादवले प्रदेशसभामा प्रदेश सरकारको आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा विपक्षी चार दलका सांसदहरुले भने बैठक बाहिरै बसेर विरोध जनाएका थिए ।
सांसदहरु उपस्थित नभए पनि दलको भने नीति तथा कार्यक्रममा समर्थन जनाउँदै ४ दलका चार जना प्रमुख सचेतकहरु बैठकमा सहभागी भए ।
प्रदेश प्रमुखले संसदीय मर्यादा कायम गर्न नसकेकाले आफूहरुले संसदमा सम्मान गर्न नसकेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक निर्मला क्षेत्रीले बताइन् ।
नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ ।
कोरोनाको तेस्रो र चौथो लहर आउनसक्ने आशंकाबीच कोरोना नियन्त्रणको पूर्व तयारीलाई नीति तथा कार्यक्रममा प्रमुख प्राथमिकतामा राखिएको छ ।
त्यसका साथै कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको सम्मृद्धि हुने भएकोले यी क्षेत्रको विकासमा सरकारले ठोस काम गर्ने कार्यक्रममा उल्लेख छ ।
यादवले प्रस्तुत गरेको सरकारको नीति कार्यक्रममा कोभिड–१९ बाट प्रभावित क्षेत्रका लागि सुलभ कर्जा, ब्याजमा अनुदानदेखि उत्पादनमुखी कार्यक्रम र उद्योग स्थापनालाई पनि प्राथमिकतामा राखिएको छ । कोभिडको उपचार र व्यवस्थापनका लागि पूर्वाधार निर्माण, औषधि, उपकरण र जनशक्ति व्यवस्थापन कार्य पनि प्राथमिकतामा छ । स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका कार्यक्रमदेखि प्रदेशभित्रका अस्पतालहरुको स्तरोन्नतीलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।
कृषि, शिक्षा, पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धनलगायतका क्षेत्रमा भने अधिकांस कार्यक्रम दोहोरिएका छन् । नयाँ कार्यक्रम र नयाँ योजनालाई सरकारले न्यून प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्