प्रदेश एक र दुईको प्रदेशसभा बैठक आज पनि बस्दै



काठमाडौँ : प्रदेश एकको प्रदेशसभा बैठक आज पनि बस्दै छ । आज बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुँदैछ । मध्यान्ह १२ बजे बस्ने प्रदेशसभा बैठकमा मंगलबार प्रस्तुत भएको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रमोद विकले जानकारी दिए ।

उनका अनुसार छलफल सकेसम्म आजै सक्ने तयारी छ । छलफलको अन्त्यमा प्रदेश अर्थमन्त्री टंक आङ्बुहाङले छलफलका क्रममा उठेका जिज्ञासाको सम्वोधन गर्नेछन् । मन्त्री आङ्बुहाङले हिजोको बैठकमा बजेटको बिनियोजन विधेयक आर्थिक वर्ष २०७८–७९ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि नीति तथा कार्यक्रम पेश गरिनेछ ।

यस्तै प्रदेश २ को प्रदेशसभा बैठक आज पनि बस्दैछ । मंगलबार विपक्षी दलको अवरुद्धपछि स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने सूचना जारी गरिएको छ ।

विपक्षी दलका सांसदहरुले स्थानीय तहलाई प्रदेश सरकारले पठाएको शसर्त बजेटमा मनपरी गरेको आरोप लगाउँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् । उता यसअघि पटक–पटक स्थगित भएको कर्णाली प्रदेशसभाको बैठकपनि आजै बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्