चुरेको सहारा लिएर अनावश्यक राजनीति : पौडेल



काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको सिद्धबाबा पहाड कुनै पनि हालतमा नकाटिने बताएका छन् । सिद्धबाबा पहाडमा पर्यावरणीय संरक्षण र प्राकृतिक प्रकोपका कारण भइरहेको मानवीय क्षति रोक्न सुरुङमार्गको अवधारणा ल्याएको भन्दै सिद्धबाबा उत्खननसम्बन्धी खबरमा सत्यता नभएको उनले बताए । बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको अन्तर्क्रियामा उपप्रधानमन्त्री पौडेलले सिद्धबाबा डाँडो काटेर त्यहींबाट सडक लैजानुपर्छ भनेर प्रस्ताव आएको भने स्वीकार गरे ।

सिद्धबाबामा पहिरोका कारण वर्षेनि दर्जनौं मानिसले ज्यान गुमाएको भन्दै उनले भने, ‘डाँडो सम्याएर बाटो लगौं भन्ने प्रस्तावको सख्त विरोध गर्ने म हुँ, मेरै प्रस्तावमा सिद्धबाबा काट्न लागियो भनेर प्रचार गरिएको छ ।’ पहाडको संरक्षण गर्दै यातायात सहज बनाउन आफ्नो पहलमा सिद्धबाबामा सुरुङ मार्ग निर्माण अगाडि बढेको उनले दावी गरे । ‘बजेटको प्रबन्ध पनि गरेर मुलुककै आधुनिक सुरुङमार्गको यो दोस्रो आयोजना बन्दैछ’, उपप्रधानमन्त्री पौडेलले भने । उपप्रधानमन्त्री पौडेलले विपक्षीहरुले चुरेको सहारा लिएर राजनीति गरेको आरोप लगाए । ‘राजनीति गर्ने धेरै विषय छन्, चुरेको सहारा नलिनुहोस्, चुरे संरक्षणको महत्व मलाई राम्रोसँग थाहा छ’ उनले भने ।

आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यको बुँदा नम्बर १९९ मा चुरे उत्खननको विषय नरहेको भन्दै उनले एक पटक पढ्न आग्रह गरे । उनले चुरेको दोहन रोक्नका लागि वैकल्पिक उपायबाट वातावरणीय प्रभाव अध्ययनपछि उपयुक्त ठहर भएका ठाउँमा मात्र उत्खनन गर्ने योजना रहेको पनि सुनाए । उपप्रधानमन्त्री पौडेलले विज्ञहरुलाई आफ्नो कुरा पत्याउन पनि आग्रह गरे । ‘चुरेबाट एक डोको बालुवा पनि निकाल्न सरकारले दिंदैन’ उनले भने । चुरे तराइको जनजीवनसँग गाँसिएको भन्दै उपप्रधानमन्त्री पौडेलले यसको क्षतिबाट हुने पीडा आफूले समेत महसूस गरेको दाबी गरे ।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले मुलुकको आन्तरिक आवश्यकता पूरा गरेर मात्र निर्यात गर्नुपर्छ भन्ने विषयमा सरकार पनि सहमत रहेको बताए । उनले खानीबाट उत्खनन गरेरै निकासी गरिने भन्दै चुरेको संरक्षणमा भने सरकारले कुनै सम्भौता नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्