थापालाई पुनर्वहाली गर्ने अन्तरिम आदेश खारेजीको मागसहित गण्डकीका सभामुख सर्वाेच्चमा



काठमाडौं : गण्डकी प्रदेश सभा सदस्यमा राष्ट्रिय जनमोर्चाका कृष्ण थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको मागसहित गण्डकीका सभामुख नेत्रराज अधिकारीले निवेदन दिएका छन् ।

सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै मंगलवार दिउँसो सर्वोच्च अदालतमा सभामुख अधिकारीले अन्तरिम आदेश बदरको मागसहित निवेदन दिएका हुन् । अन्तरिम आदेशविरुद्ध प्रदेशसभा सभामुख अधिकारीसहित, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलगअलग निवेदन परेका छन् । निवेदनमाथि बिहीबार नै सुनुवाइ हुने भएको छ ।

सभामुख अधिकारीले राजमोले दिएको सूचनाका आधारमा सांसद थापालाई पदमुक्त गरेका थिए । सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थापालाई न्यायाधीश कुमार चुँडालको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो । थापाको पुनर्वहालीसँगै गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना टरेपछि सभामुख स्वयं निवेदन लिएर आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्