प्रदेश २ मा कांग्रेस र माओवादी सरकारमा जाँदै, आजै शपथ लिने तयारी



जनकपुरधाम । प्रदेश २ मा नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुँदैछन् । मुख्यमन्त्री कार्यालयकाअनुसार काँग्रेस र माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरुले आजै शपथ लिदैंछन् ।
नेपाली कांग्रेसबाट तीन र माओवादी केन्द्रबाट दुईजना मन्त्रीसहित मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो ।
कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव नेतृत्वमा तीन र माओवादीबाट संसदीय दलका नेता भरत साहको नेतृत्वमा दुई नेता सरकारमा सहभागी हुनेछन् । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेसबीच बुधबार सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको सत्ता पक्षका वार्ता समिति सदस्य भूमि, व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।
यादवले भौतिक योजना मन्त्रालय पाउने सम्भावना छ । जनता समाजवादी पार्टी (जसपा) को ठाकुर–महतो पक्षका भौतिक योजना मन्त्री जितेन्द्र सोनललाई मुख्यमन्त्रीले हटाएपछि मन्त्रालय खाली छ ।
कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्