काठमाडौं : गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वाेच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको मागसहित परेको निवेदनउपर आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ । त्यो निवेदन न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा परेको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको समर्थनमा उभिएपछि जनमोर्चाले आफ्ना सांसद थापालाई कारबाही गरेको थियो । जनमोर्चाले मुख्यमन्त्री गुरुङको विपक्षमा उभिएर अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न दिएको निर्देशन अवज्ञा गरको आरोपमा थापालाई कारबाही गरी प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको थियो । जनमोर्चाको निर्णयकै आधारमा प्रदेश सभा सचिवालयले थापालाई पदमुक्त गरेको थियो ।
पदमुक्त भएपछि त्यसविरुद्ध थापाले सर्वाेच्चमा रिट निवेदन दिएका थिए । सर्वाेच्चले उनको रिट निवेदनउपर सुनुवाइ गरी पुनर्बहाली गरिदिएको थियो । त्यसपछि प्रदेश सभाका सभामुख, जनमोर्चा केन्द्रीय समिति र प्रदेशसभा सचिवालय समेतले थापालाई गरिएको पुनर्बहाली र सर्वाेच्चको अन्तरिम आदेश खारेजीको मागसहित सर्वाेच्चमा निवेदन दिएका थिए । त्यस निवेदनको आज सुनुवाइ हुँदै छ ।
सर्वाेच्चमा सुनुवाइ भइरहेकै बेला उता गण्डकी प्रदेशमा गुरुङले आजै प्रदेश सभामा विश्वासको मत लिदैछन् । गुरुङकै मन्त्रिपरिषदमा रहेका युवा तथा खेलकूद मन्त्री दीपक मनाङेले साथ छाडेपछि विपक्षी गठबन्धनलाई सजिलो भएका छ । मनाङेले विपक्षीलाई साथ दिने भएका छन् । प्रदेश सभा नै विघटनको तयारीमा मुख्मयन्त्री गुरुङ लागेपछि साथ छाडेको र बहुमत रहेको पक्षलाई साथ सहयोग गर्ने उनले बताएका छन् ।