संघीय सरकारमा प्रदेश २ बाटै दुई उपप्रधानसहित १४ मन्त्री (मन्त्रिपरिषदको कार्यविभाजसहित)



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद विस्तारमा प्रदेश २ को बाहुल्य रहेको छ । कुल २५ सदस्यीय मन्त्रिपरिषदमा १४ जना प्रदेश २ का छन् ।

मुलुकमा सात प्रदेश र ७७ जिल्ला छ तर पछिल्लो मन्त्रिपरिषदमा एउटै प्रदेश र त्यस प्रदेशअन्तर्गत रहेको आठ जिल्लाबाट १४ जनालाई मन्त्रिपारिषदमा सामेल गरिएको छ । यति मात्र होइन, दुई जना त उपप्रधानमन्त्री नै छन् । ओली मन्त्रिपरिषदमा रघुविर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री छन् । महासेठले परराष्ट्र र महतोले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । दुवै धनुषा जिल्लाबाट प्रतिनिधि सभा सदस्यबाट निर्वाचित भएका थिए ।

यस्तै जसपाबाट सरकारमा सहभागी शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, उमार्शकर अरगरिया, चन्दा चौधरी, एकबाल मियाँ, विमल श्रीवास्तव, चन्द्रकान्त चौधरी प्रदेश २ का छन् । जसपाका रेणुका गुरुङ राज्यमन्त्री बनेकाले पनि प्रदेश २ कै प्रतिनिधित्वमा जोडिएको छ । यस्तै कानुनमन्त्री लिलानाथ श्रेष्ठ प्रदेश २ का छन् भने राजकिशोर यादव र ज्वालाकुमारी साह पनि मन्त्री बन्दैछन् । यादव जसपाका हुन् भने साह नेकपा एमालेकी हुन् । वर्तमान ओलीको मन्त्रिपरिषदमा २५ मध्ये १४ जना प्रदेश २ बाटै प्रतिनिधित्व भएपछि यसले ५६ प्रतिशत प्रतिनिधित्व पाएको छ । सरकारमा प्रदेश २ को उपस्थिति बलियो हुन पुगेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरको स्पष्ट अडानका कारण यो सम्भव भएको एक राजनीतिक विश्लेषकले बताए । उनले समग्र प्रदेश २ र तराई मधेशका लागि ठूलो उपलब्धि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्