गृह प्रशासन अब्बल देखिनेगरी काम गर्न गृहमन्त्री अधिकारीको निर्देशन



काठमाडौं– नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिनेगरी काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार गृहमन्त्रालयमा पदभार ग्रहणपछि गृहमन्त्रालयका अधिकारीहरु सँगको परिचयात्मक बैठकमा मन्त्री अधिकारीले गृह मन्त्रालय मातहतका निकायलाई पारदर्शी रुपमा काम गर्न आवश्यक रहेको बताए । गृह प्रशासनभित्र कहीँपनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरी कारबाही गर्ने बताए । उनले भने – ‘शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा अब्बल देखिनुपर्दछ र हरेक कुरा पारदर्शी हुनुपर्छ । कहीँकतै, कसैमा भ्रष्टाचारको दुर्गन्ध कहीँ भेटियो भने त्यसमा हाम्रो कम्परमाइज हुँदैन ।’

मन्त्री अधिकारीले विकासमा तिव्रता र सुशासनको खाँचो भएकोले जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रको ढिलासुस्ती, अवरोधमा कठोर भएर उभिन निर्देशन दिए । मन्त्री अधिकारीको पदवहाली कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र विभागीय प्रमुखरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्