युरोकप आजदेखि, उद्घाटन खेल इटली र टर्कीबीच भिड्दै



काठमाडौँ : कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम त पूर्वविजेता मात्रै छन् । अहिलेसम्म १० टिमले उपाधि जित्दा ग्रीस मात्र यसपटक छनोट हुन सकेन । त्यसैले पनि यसपटक युरोकप प्रतिस्पर्धात्मक हुन सक्छ ।

युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ । उद्घाटन खेल इटली र टर्कीबीच रोममा हुनेछ भने जुलाई ११ मा लण्डनस्थित वेम्बलीमा फाइनल खेल हुनेछ । उपाधि दाबेदार भएर पनि अहिलेसम्म युरोकप जित्न नसकेका बेल्जियम र इंग्ल्याण्ड पनि यस पटक खेल्दैछन् ।

सहभागी २४ मध्ये झण्डै एक तिहाइ टिम उपाधिको दाबेदारको रुपमा छन् । साविक विजेता पोर्चुगल, विश्व विजेता र साविक उपविजेता फ्रान्स, सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनी र स्पेन अनि विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम प्रमुख दाबेदारको रुपमा छन् । यस्तै इंग्ल्याण्ड, एक पटकको विजेता इटली र नेदरल्याण्ड्स पनि उपाधि दाबेदारकै रुपमा छन् ।

पूर्व च्याम्पियनमध्ये डेनमार्क, रसिया र चेक रिपब्लिकलाई उपाधि दाबेदारको रुपमा हेरिएको छैन । डेनमार्क र नेदरल्याण्ड्स २०१६ मा छनोट हुन नसके पनि यस पटक पुनरागमन गरेका छन् । यसबाहेक सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा अप्रत्यासितरुपमा फाइदा पुगेको क्रोएसियाले पनि अर्को अप्रत्यासित नतिजा निकाल्न सक्छ ।

पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा रहेकाले एक पूर्व विजेताको यात्रा समूह चरणबाटै समाप्त हुन पनि सक्छ । तर ६ वटै टिमको शीर्ष दुई टिमसँगै तेस्रो हुनेमध्ये चार टिम पनि प्रिक्वाटरफाइनलमा पुग्ने भएकाले तीनवटै टिम नकआउट पनि पुग्न सक्छन् । त्यसका लागि सबै ६ टिमको नतिजा र अन्य समूहको नतिजा निर्णायक हुनेछ । कोरोना महामारीले गर्दा गत वर्ष नै हुनुपर्ने युरोकप एक वर्ष पछि सरेको थियो ।

प्रतिक्रिया दिनुहोस्