पोखरा प्रिमियर लिग रोमाञ्चक बन्दै, को पुग्ला सिधै फाइनलमा ?



पोखरा : पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको शीर्ष तीनको होड रोमाञ्चक बनेको छ ।

बिहीबार पहिलो खेलमा पारस खड्का नेतृत्वको चितवन राइनोजले ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई १३ रनले हरायो । अर्को खेलमा धनगढी ब्लूजले बुटवल ब्लास्टरलाई २० रनले हराएपछि पीपीएल रमाइलो मोडमा पुगेको हो ।

चार खेल खेल बाँकी छँदा ५ टिमको समान ४–४ अंक भएको छ भने बिराटनगर टाइटेन्सको २ अंक छ । बुटवल ब्लास्टर, पोखरा पल्टन, चितवन राइनोज, काठमाडौं रोयल र एक्स्पर्ट धनगढी ब्लुज सबै टिमको चार अंक भएको छ । 

पोखरा पल्टन र काठमाडौं रोयल्सले दुई खेल खेल्न बाँकी छ भने अरु टिमले एक खेल खेल्न बाँकी छ । शुक्रबार धनगढीले पोखरा र बुटवलले काठमाडौंसँग खेल्नेछ भने शनिबार काठमाडौंले पोखरा र विराटनगरले चितवनसँग खेल्नेछ । 

यसैले बाँकी खेलका नतिजाले समूह चरणमा शीर्ष तीनमा रहने टिममा फेरबदल हुनसक्छ । तर, सन्दीप लामिछाने नेतृत्वको विराटनगरको भने गणितीय सम्भावना मात्र बाँकी छ ।

शीर्ष स्थानमा रहने टिमले सिधै फाइनल खेल्ने छ भने दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि खेल्ने छन् । इलिमिनेटर खेल आइतबार हुने छ भने फाइनल खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्