बागमती र लालबकैया नदीमा तटबन्ध मर्मतको काम सुरु



रौतहट । रौतहटको बागमती र लालबकैयाका तटबन्ध र स्परहरुको मर्मत सुरु भएको छ ।
प्रदेश २ मा बाढीको समयमा धेरै धनजनको क्षति गर्ने यी दुई नदीका कमजोर स्पर मर्मत गर्ने र भत्किएका, कमजोर तटबन्ध पुनः निर्माणको काम सुरु भएको हो ।
यसवर्ष वर्षायाममा औसत भन्दा बढी वर्षा हुने र मनसुन पनि चाडै शुरु हुने पूर्वानुमान रहेकोले तटबन्धहरुलाई दुरुस्त बनाउन लागिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बागमती र लालबकैयाको बाढीको पानी बस्तीमा प्रवेश गर्न नदिन हर सम्भव प्रयास भइरहेको उनको भनाइ छ ।
रौतहटमा बागमती नदीको ११ र लालबकैयाको १३ स्थानमा बाढी, कटान र डुवानको उच्च जोखिममा रहेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुख अख्लाख सिद्धिकीले बताए ।
नेपाल–भारत सीमा क्षेत्रको जिरो किलोमिटरदेखि साढे १७ किलोमिटर उत्तरसम्मको बागमतीको बाँध उच्च जोखिममा रहेको छ । रौतहटको ब्रम्हपुरी, बसन्तपुर, मत्सरी, गंगापिपरा र रजवडा बाढीको उच्च जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्