लोकतन्त्रको रक्षाका लागि लाग्न नेताहरुको आग्रह



काठमाडौं । पूर्वप्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेताहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय छलफलमा सहभागी पूर्वप्रधानमन्त्री र दलका शीर्ष नेताहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्वपूर्ण रहेकाले त्यसमा लाग्न सुझाव दिए ।
सभामुखसँगको छलफलमा समसामयिक राजनीतिक विषयसँगै राष्ट्रिय संकट र कोरोना महामारीको विषयमा छलफल भएको थियो । महामारीको रोकथाम तथा नियन्त्रणसँगै राजनीतिक संकट समाधानका लागि सबैको साझा धारणा हुनुपर्नेमा बैठकमा सहभागीहरुले जोड दिए ।
छलफलपछि प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री तथा जसा अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुखको हातमा महत्वपूर्ण जिम्मेवारी छ । लोकतन्त्रको रक्षाका लागि लाग्न हामीले सुझाव दियौं, हाम्रो सहयोग रहन्छ, भन्याँै ।’
छलफलमा सभामुख सापकोटाले संविधान भित्र रहेर लोकतन्त्रको रक्षाका लागि काम गर्ने बताए ।
भट्टराईले अर्को चुनाव नहुँदासम्म सभामुखको पद रहने हुँदा समसामयिक विषयमा छलफलको आयोजना गर्नु स्वभाविक भएको बताए ।
छलफलमा सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यापार घाटा कम गर्न चुरेको गिटी, बालुवा निकासी गर्ने तयारी गरेकोप्रति नेताहरुले आपत्ति जनाएका छन् ।
दोस्रो पटक प्रतिनिधिसभा विघटन गलत र असंवैधानिक भएको भन्दै उनीहरुले यसलाई निरंकुशताको पराकाष्डाको संज्ञा दिए ।
संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सभामुखसँगको छलफलको निचोड लोकतन्त्र बनाउने मात्र रहेको बताए । ‘समसामयिक विषयमा छलफल भयो’, यादवले भने, ‘आजको निचोड लोकतन्त्रलाई बचाउने नै हो ।’
छलफलका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई निम्तो गरिएको थियो । प्रधानमन्त्री केपी ओली छलफलमा उपस्थित भएनन् । छलफलमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा.बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाललगायत नेता सहभागी थिए । छलफलमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।
प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक गरेका हुन् । संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका पेश गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि सभामुख सापकोटाले यसलाई असंवैधानिक भनेका छन् ।
गत जेठ १३ गते उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए । छलफलमा सापकोटाले जनतालाई केन्द्रबिन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्