जसपा फुटेको छैन, एक ढिक्का नै छ : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजन नभएको दाबी गरेका छन् । उनले केही व्यक्तिहरूलाई कारबाही गरेर निकालिएको र पार्टी एक ढिक्का रहेको दाबी गरे ।
सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले भने, ‘केही मान्छेले निर्णय उलंघन गरेका कारण निष्कासित गरिएको हो । पार्टी फुटेको छैन । जसपा अहिले एउटै छ, एक ढिक्का नै छ ।’
आफूहरूले पार्टीको आधिकारिक बैठकबाट कारबाही गरेर केही व्यक्तिलाई निष्कासित गरेको र ठाकुर पक्षले आफूलाई कारबाही गर्नुको अर्थ नरहेको उनको भनाइ थियो ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको अध्यधिक बहुमतले पार्टीको विधान अनुसार व्यक्तिलाई निष्कासन गरेको हो । पार्टी एकजुट छ एकजुट रहन्छ,’ उनले भने ।
अध्यक्ष यादवले प्रदेशमा रहेका एमालेका सरकार अब क्रमशः ढल्दै जाने पनि दाबी गरे ।
सभामुख सापकोटासँगको छलफलको निचोड लोकतन्त्रलाई बचाउने रहेको उनको भनाई छ । यादवले नागरिकता विधेयक संसदबाट पास गराएर नागरिकताबाट बञ्चित भएकाहरुलाई नागरिकता दिनुपर्ने उल्लेख गरे ।

संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र

यस्तै जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान र परिवर्तन मन नपराउने देशभित्र र बाहिरका शक्तिहरुले चलखेल गरिरहेको दाबी गरेका छन् ।
सभामुख सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले देशको संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र भइरहेको संकेत गरे ।
‘यो सरकारले चुनाव घोषणा गरेको छ । ६ महिनामा चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव घोषणा गरेको सरकारले पटक–पटक मन्त्रिपरिषद पुनर्गठन गर्ने, अध्यादेश जारी गर्नेजस्ता असंवैधानिक काम गरिरहेको छ ।’ उनले भने, ‘चुनाव नभएपछि संविधान फेल हुन्छ । संविधान नभएपछि भ्याकुम पैदा हुन्छ । अनि त्यसमा खेलेर अन्ततः व्यवस्था असफल भयो भन्ने ग्रायाण्ड डिजाइन तयार भइरहेको छ ।’
उनले सर्वोच्चले संसद पुनः स्थापना गरिदियो भने सबै भन्दा उपयुक्त निकास हुने बताए । भट्टराईले भने, ‘यदि प्रतिगामी शक्तिले षड्यन्त्र गरेर संसद पुनःस्थापना भएन भने जनता सर्तक हुनुपर्छ ।’ सभामुखले दलहरुसँग गरेको छलफलको पहल सही भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्