जाने भयो केशव स्थापितको मन्त्री पद, यस्तो छ कारण



मकवानपुर : प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई हटाउने अन्तिम तयारी गरेका छन् । प्रदेशका अन्य मन्त्रीको सल्लाहमा उनले स्थापितलाई हटाउन लागेका हुन् । मन्त्री स्थापितलाई आजै वा भोलि बिहानसम्म हटाउने गरी तयारी थालिएको बताइएको छ । यसका लागि मुख्यमन्त्री पौडेल काठमाडौं आएका छन् । 

मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक पटक अपमान गरेको आरोप छ । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेका थिए । उक्त विचार व्यक्त गर्ने वितिक्कै मन्त्री स्थापितले आफूले मन्त्रालयको काम गरिरहेको जिकिर गर्दैै मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेका थिए ।

१३ अर्ब वजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खासै काम अगाडि बढाउन सकेको छैन । मन्त्री स्थापितलाई पदबाट हटाउन नेकपाको नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौ गएका छन् । 

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको अनुमति पाएपछिमात्र मुख्यमन्त्री पौडेलले स्थापितलाई मन्त्री पदबाट हटाउने बताइएको छ । मुख्यमन्त्री पौडेल मन्त्री स्थापितको बुधबारको व्यवहारवाट अत्यन्त आक्रोशित भएका थिए ।

स्थापित अभद्र ढंगले प्रस्तुत भएपछि बैठकमै टेबुल ठोकाठोक भएको थियो । मन्त्री स्थापित पनि बुधबार बेलुका नै काठमाडौं आइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्