विश्वकप छनोटमा नेपालमाथि अष्ट्रेलियाको सहज जित



काठमाडौँ : फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ । कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको पावरहाउस अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको हो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे ।

खेलको ४५ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । नेपालका डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । अष्ट्रेलियाका मार्टिनलाई फउल गरेपछि ओमानी रेफ्री अहमेदले रोहितलाई रातो कार्ड देखाएका थिए ।

यस जितसँगै अष्ट्रेलियाले नेपालविरुद्ध लगातार दोस्रो जित निकालेको छ । यस अघि घरेलु मैदानमा भएको पहिलो लेगमा अष्ट्रेलियाले नेपाललाई ५–० ले हराएको थियो । जितपछि अष्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान बनाएको छ ।

शीर्ष स्थानको अष्ट्रेलियाले ७ खेलमा २१ अंक जोडेको छ । यस समूह ’बी’ मा अष्ट्रेलिया अपराजित रहने एक्लो टिम हो । नेपालले ८ खेलमा ६ अंक जोडेको छ । नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ ।

नेपालको विश्वकपको तेस्रो चरण र एसियन कपको सम्भावना यस अघि नै सकिएको थियो । तर, नेपालको प्ले अफबाट तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ । सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्