सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि स्थानीयको आक्रमण



काठमाडौँ : ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।

सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।

शाहीले सामाजिक सञ्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका विभिन्न जिल्लामा पुग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्