नरोत्तम वैद्यको अभिव्यक्तिकै पक्षमा उभिए माधव निकट नेता मेटमणी चौधरी



काठमाडौँ : वागमती प्रदेशसभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीको हत्या गर्न आफू नाथुराम गोड्से बन्न तयार रहेको भनी दिएको अभिव्यक्तिको उनकै पार्टीसहित सर्वत्र निन्दा भइरहेका बेला एमालेका एक नेताले समर्थन जनाएका छन् ।

एमाले केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सांसद मेटमणी चौधरीले फेसबुकमा लामो स्टाटस लेख्दै नरोत्तम वैद्यको अभिव्यक्ति सबैलाई अप्रिय लागे पनि सत्य यहि हो भनेका छन् । उनले सत्य उजागर गरेकोमा वैद्यलाई धन्यवाद समेत दिएका छन् ।

माधव नेपाल पक्षधर चौधरीलाई एमालेले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोधेको छ । उनले वैद्यले आफ्ना अभिव्यक्तिका लागि माफी माग्नु नपर्ने र पश्चाताप पनि गर्नु नपर्ने बताएका छन् । उनले शासकले नै बरु माफी मागेर पश्चाताप गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रदेश सभाको बैठकमा संसाद वैद्यले केपी ओलीले आफ्नो सत्ता बचाउनका लागि जे कुरामा पनि सम्झौता गरिराखेका र देशलाई नै सिध्याउन सक्ने भन्दै त्यसका लागि कोही नाथुराम गोड्से आवश्यक परेको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्