काँग्रेस जिल्ला सभापतिहरुले देउवासमक्ष बुझाए ज्ञापन पत्र



काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवासमक्ष तीनवटा विषयमा ज्ञापन पत्र बुझाएका छन् ।
शनिबार पार्टी सभापति देउवासमक्ष जिल्ला सभापतिहरूले कोभिड–१९, पार्टीको १४औं महाधिवेशन र प्रधानमन्त्री केपी शर्मा ओलीले कदमका विषयमा ध्याकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन् ।
यस्तो छ ज्ञापन पत्र

ज्ञापनपत्र

१.कोभिड महामारी सम्वन्धमाः
(क)कोभिड महामारीको नियन्त्रण, व्यवस्थापन र उपचारमा सरकार प्रारम्भदेखि नै उदासीन, असंवेदनशील र भ्रष्टनायकका रुपमा प्रकट भयो । नेपाली कांग्रेसको तर्फबाट सबै नागरिकलाई अनिवार्य खोपको ब्यवस्था गर्न, एऋच् परिक्षणलाई ब्यापक बनाउन, हरेक पालिकामा औषधि र उपकरण सुविधा सहितको आइसोलेशन सेंटर निर्माण गर्न र श्रमिक बर्गलाई तत्काल राहत उपलब्ध गर्राउन सरकार गंभीर छैन । प्रमुख प्रतिपक्षको रुपमा सरकार माथि हाम्रो दवाव पनि पर्याप्त भएको छैन । सशक्त दवाव बढाउने कार्यक्रम ल्याउन अनुरोध छ।

(ख) प्रत्येक जिल्लामा “विपद ब्यवस्थापन कोष” गठन गर्न तथा कोभिड महामारी, बाढी–पैह्रो र अन्य विपद विरुद्ध लड्न स्वयंसेवकका रुपमा पार्टी सदस्यहरु परिचालित गर्ने गरी कार्यविधि र सीड मनी सहित केन्द्रीय निर्देशन जारी गर्न अनुरोध छ।

(ग) नेपाली कांग्रेसको पार्टी स्वामित्वमा रहेका जिल्लास्थित सम्पूर्ण भवनहरु क्वारेण्टाईन वा आइसोलेशन सेण्टरको रुपमा प्रयोग गर्न दिन तथा स्थानीय सरकार वा सामाजिक संघसंस्था सँग समन्वय गरी कोभिड संक्रमण विरुद्ध लड्न हरक्षण पार्टी तयार रहेको प्रतिवध्दता सार्वजनिक गर्न अनुरोध छ।

(घ) देश भित्र तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, शुभेच्छु ब्यक्ति वा संघसंस्था जो जहाँबाट जे जस्तो सहयोग संभव छ, संकलन गरी अत्यावश्यक बर्गमा पुर्याउन स्थानीय पार्टी सदस्यहरु परिचालन गर्न अपील जारी गर्न अनुरोध छ ।

२.ओली प्रतिगमन सम्वन्धमाः
(क) नेपाली कांग्रेसको नेतृत्वमा संविधान र लोकतन्त्र विरोधी प्रतिनिधि सभा विघटन विरुद्ध प्रतिरोधी आन्दोलनलाई सशक्त र निर्णायक बनाउन अत्यावश्यक छ। नेपाली राष्ट्रीयता र सार्वभौमिकतालाई कमजोर तुल्याउने, वर्तमान संविधानलाई विघटन गर्ने, उदार संसदीय लोकतन्त्रलाई समाप्त गर्ने जस्ता ग्र्याण्ड डिजाईनलाई परास्त गर्न उच्च नैतिक, वैचारिक आत्मबल सहित अघि बढ्न अनुरोध गर्दछौं।

(ख) ओली सरकारको लोकतन्त्र र संविधान विरोधी निर्णय र गतिविधि प्रकट भएका सोसल मिडिया सामाग्रीहरु निर्माण गर्ने र ब्यापक प्रचार–प्रसार गर्ने,लकडाउन भएका क्षेत्रका घरघरमा कालो झण्डा टाँग्ने, ब्लाक आउट गर्ने, शंख–घण्टा वा थाल ठटाउने आदी बिरोधका कार्यक्रम गर्ने तथा कोभिडसम्वन्धी मापदण्ड र अनुशासन पालना गरी न्यूनतम उपस्थितिमा शांकेतिक सडक प्रदर्शन गर्ने जस्ता कार्यक्रमहरु निर्धारण गर्न अनुरोध गर्दछौं ।

३. पार्टीको १४ औं महाधिवेशन सम्वन्धमा
(क) भाद्र महिना भित्र पार्टीको महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने संवैधानिक अनिवार्यता रहेको तर्फ हामी गंभीर छौं। यस विषयमा समयमै समयवध्द कार्यतालिका सहित महाधिवेशनसम्वन्धी कार्यारम्भ गर्न महासमिति बैठकमा जिल्ला जिल्लाका सदस्यहरुबाट सशक्त आवाज उठेको तर यसको संवेदनशीलतालाई पुरै उपेक्षा गरेर पार्टी नेतृत्वले महाभूल गरेको हाम्रो ठहर छ। समयमै निष्पक्ष, मर्यादित महाधिवेशन गरिने कुरालाई प्रष्ट गर्नेगरी हालै आदरणीय सभापतिबाट जारी भएको प्रेस विज्ञप्तिले हामीलाई उत्साही बनाएको छ। यति हुँदाहुँदै पनि समायोजनका सन्दर्भमा केही जिल्लामा देखिएको पक्षधरता तथा क्रियाशील सदस्यता वितरण र छानवीनमा देखिएका असंगतिपूर्ण भूमिकाले निष्पक्ष महाधिवेशन माथि संशय पैदा भएको छ।

(ख) सिन्धुपाल्चोक जिल्लाको आजसम्म समायोजन सम्पन्न नगरिनु तथा क्रियाशील सदस्यता फाराम पठाउने कार्यमा वेवास्ता गरिएकोमा हामी दुःखी छौं। बारा, पर्सा, सप्तरी, सिराहा, सर्लाही, बर्दिया, कपिलवस्तु, प्युठान, बाँके, काभ्रे, नुवाकोट लगायत जिल्लाको क्रियाशील सदस्यता सम्वन्धी समस्या समाधानमा तत्परता देखिएको छैन। डडेल्धुरा, सुर्खेत आदि जिल्लाले केन्द्रीय परिपत्र अनुसार क्रियाशील सदस्यता सम्वन्धी सम्पूर्ण काम सकेर पठाउँदा पनि वेबसाइटमा सार्वजनिक गरिएको छैन । दवाव र प्रभावमा परेर काम गर्ने प्रवृत्तिलाई बेलैमा नियन्त्रण गर्न हार्दिक अनुरोध गर्दछौं।

(ग) तल विवाद नभएका जिल्लामा समेत विवाद बनाउने र सामान्य समस्या देखिएका स्थानको समाधानमा बाधा पुर्याउने चरित्र केन्द्रीय कार्यसमिति भित्रैबाट देखिनु अत्यन्त दुखद छ। महासमितिको बैठकमा पारित भैसकेको प्रस्तावलाई बहुमतको नाममा केन्द्रीय समितिले उल्टाएको निर्णयको आड लागेर अहिले केही जिल्लामा स्थानीय तथा जिल्ला अधिवेशन हुन नदिने वा अवरोध पुर्याउने कार्यमा स्वयं केही केन्द्रीय नेताहरु समेत लागिपरेको आशंका भएकाले विधिवत जिल्ला अधिवेशन नगर्ने जिल्लाका केन्द्रीय सदस्य एवं पदाधिकारीले महाधिवेशनमा भाग लिन नपाउने निर्णयका लागि हार्दिक अनुरोध गर्दछौं ।

(घ) क्रियाशील सदस्यता सम्वन्धी छानवीनको लागि विधानमा भएको ब्यवस्था अनुसार जिल्लास्थित “प्रारम्भिक छानवीन समिति” लाई उपेक्षा गरी केन्द्रले नै आफूखुसी मापदण्ड निर्माण गरी काम अघि बढाएमा सो हामीलाई स्वीकार्य नहुने तथ्य विनम्रतापूर्वक अनुरोध गर्दछौं ।(घ) नियमित क्रियाशील सदस्यता वा अन्य पार्टीबाट आएकाहरुले पाउने क्रियाशील सदस्यताका सम्वन्धमा पार्टीको तहगत निर्णयको अनिवार्य आवश्यकतालाई सम्मान गर्न अनुरोध गर्दछौं।

(ङ)आगामी १४ औं महाधिवेशनमा प्रस्तुत गरिने पार्टीको नीति, कार्यक्रम सम्वन्धी दस्तावेज तयारीका लागि मस्यौदा समिति अविलम्ब गठन गर्न अनुरोध गर्दछौं ।

(च) पार्टीको हरेक संरचनामा जनसंख्याको आधारमा समानुपातिक सिध्दान्त अनुरुप प्रतिनिधित्व हुने संख्या प्रष्ट खुल्नेगरी नियमावलीको अनुसूची वा निर्वाचन निर्देशिकाको अनुसूचीमा ब्यवस्था गरी यथाशीघ्र जिल्ला–जिल्लामा पठाइदिन हार्दिक अनुरोध गर्दछौं । जय नेपाल ।

प्रतिक्रिया दिनुहोस्