पोखरा । गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपालीले सपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।
मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका हुन् ।
मुख्यमन्त्री पोखरेलले असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिपरिषद बनाएका हुन । उनी आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडी बढेका हुन् ।
गण्डकीमा पहिले ७ मन्त्रालय मात्र रहेका थिए । तर पछि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ मन्त्रालय बनाएका थिए । ११ मन्त्रालय बनाइएपछि कांग्रेस र माओवादीलाई ३–३ जसपालाई १ मन्त्री थपिने छन् ।
वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेष्ठ २७ गते संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि शनिबार दिउँसोसम्म समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् ।
त्यही अनुसार शुक्रबारे नै विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।