राष्ट्रिय फुटबल टिम आज स्वदेश आइपुग्ने



काठमाडौँ : फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज (आइतबार) स्वदेश आइपुग्ने भएका छन् । छनोटको बाँकी रहेको तीन खेल खेलेर २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टिम आइतबार स्वदेश आइपुग्ने भएका हुन् । नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लने छन् ।

छनोटमा नेपालले चाइनिज ताइपे, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो । नेपालले चाइनिज ताइपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो । यस्तै जोर्डनसँग ३–० गोल अन्तरले पराजित नेपाल अष्ट्रेलियाविरुद्ध समेत ३–० गोल अन्तरलेनै पराजित भएको थियो ।
छनोटको खेल अघि नेपाली टिमले इराकसँग एक मैत्रीपूर्ण खेल खेलेको थियो । मनिष डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो ।

छनोटको समूह बीमा रहेको नेपालले ८ खेलमा ६ अंक जोड्यो । नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ । नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना यस अघि नै सकिएको थियो । तर, नेपालको प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्