एक साता नेपालको आकाशमा घाम नलाग्ने



काठमाडौँ : शुक्रबार बाट नेपालमा मनसुन भित्रिएको छ । शुक्रबार देखि यो पूर्वी नेपालबाट भित्रिएको मनसुन प्रदेश १, २ बागमती र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । मनसुन देशभर फैलिने क्रममा रहेको र मंगलबारसम्म मुलुकभर कायम रहने मौसमविद्ले जानकारी दिएका छन् ।

देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मौसमविद्हरुका अनुसार आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेकोमा प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्नेछ । राति पनि मुलुकका धेरैजसो स्थानमा पानी पर्नेछ। सोमबार प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो पानी पर्नेछ ।

मंगलबार देशभर बदली रहनेछ । देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

यस्तै अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने भएको हो ।

प्रतिक्रिया दिनुहोस्