भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध



स्याङ्जा : शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्ड अबरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीले राति २ बजे ठूलो पहिरो गएको बताए । पहिरो गएपछि राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन् । सडक खुलाउन पोखराबाट डोजर बोलाइएको प्रहरी नायव उपरिक्षक अधिकारीले बताए ।

भालुपहाडमा नयाँबर्ष शुरु भएयता दुईपटक ठुलो पहिरो गइसकेको छ । अझै बर्षायाममा ठुलो समस्या हुने देखिएको बताइएको छ । अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको बताइएको छ । गतबर्ष देखि मापदण्डविना भालुपहाडमा राजमार्ग फराकिलो बनाउन खनिएका कारण पहिरो गएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्