होटल व्यवसायी संघ बाराका अध्यक्षसहित २२ जुवाडे पक्राउ



बारा : होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेसहित २२ जना जुवाडे बुधबार राति बाराको निजगढबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामासहितको टोलीले निजगढ नगरपालिका–३, सिङ्गौलबाट उनीहरुलाई पक्राउ गरेको हो । स्थानीय एक घरमा कौडा खेलिरहेका बेला पक्राउ परेका अन्यको नाम प्रहरीले खुलाएको छैन ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाका अनुसार जुवाको खालबाट २ लाख ३० हजार नगद बरामद भएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा सिमरा, निजगढ, जीतपुर र वीरगञ्जका व्यवसायीहरु छन् । यस्तै नेपाली कांग्रेस र नेकपाका केही नगरस्तरीय नेतासमेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डीएसपी रञ्जितसिंह राठौरले २२ जना जुवाडे पक्राउ परेको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय बारामा उपस्थित गराएपछि थप विवरण सार्वजनिक गर्ने जानकारी दिए । पक्राउ परेका जुवाडेहरुलाई छुटाउन बिहीबार विहानैबाट नेकपा र नेपाली कांग्रेसका नेताहरुले दौडधुप सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्