प्रधानमन्त्री ओलीद्वारा अक्सिजन प्लान्टको शिलान्यास



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको आइतबार भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् ।
शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै पनि सम्बोधन गरे । उनले कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तीव्र अभाव ब्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुशीको विषय भएको बताए ।
‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो। त्यतिबेला हामीले महँगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, उनको भनाइ थियो ।
अचानक बढेको उच्च मागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका काम समेत गरिएको प्रधानमन्त्रीले उल्लेख गरे । त्यस अवस्थामा सरकारले देश भित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्या भन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको पनि प्रधानमन्त्रीले उल्लेख गरे ।
रुपन्देहीको सिमरहवामा स्थापित यो प्लान्ट बाट प्रतिदिन कुल ६० मेट्रिक टन उत्पादन हुन्छ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्