बागलुङमा निषेधाज्ञा एक साता थपियो



गलकोट : बागलुङमा पाँचौँ पटक निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा असार ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । कोरोना सङ्क्रमणको दर नघटेपछि कोरोना सङ्कट व्यवस्थापन (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था हप्तामा चार दिन आइतबार, मङ्गलबार, बुधबार र शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । निषेधाज्ञामा अति आवश्यक सेवा खाद्यान्न, तरकारी, दूध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन मल, बीउबिजनबाहेकका सेवाहरू बन्द गरिने भएको छ । कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढेपछि गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । सङ्क्रमण दरमा कमी नआएपछि (डिसिसिएमसी) ले जेठ एक गतेदेखि १५ गते, त्यसपछि जेठ २२ गतेसम्म, त्यसपछि पुनः जेठ मसान्त सम्म निषेधाज्ञा थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्