जाजरकोटमा विश्वकै दुर्लभ गिद्धले चल्ला कोरल्यो



जाजरकोट : विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ। त्यहाँको नलगाड नगरपालिका–५ पोखराको महादेवस्थान जंगलको सल्ली रूखमा लगाएको गुँडमा चल्ला कोरलेको हो।

त्यस्तै विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको सेतो गिद्धले बारेकोट गाउँपालिका–९ काप्तीको जंगलमा गुँड लगाएर चल्ला कोरलेको पक्षी संरक्षण सङ्घका केन्द्रीय सदस्य एवं पशु प्राविधिक गोविन्दबहादुर सिंहले बताए। स्थानीयवासीका अनुसार सुन गिद्धले वर्षको एकपटक मात्र बच्चा कोरल्छ।

जथाभावी वन फडानी, आगलागी वन अतिक्रमणलगायतका कारण यसको बासस्थान नास भई संकटमा परेको छ। विश्वमै सङ्कटासन्ना अवस्थामा पुगेका दुर्लभ गिद्धले चल्ला कोरल्नु सुखद खबर भएको पक्षी संरक्षणकर्मी सिंहले जानकारी दिए।

जाजरकोटमा सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्धको बासस्थान रहेको चराविद् बद्री बरालले बताए। एक अध्ययनका अनुसार जाजरकोटमा हिमाली गिद्ध ७५, हाडफोर गिद्ध छ, सुन गिद्ध दुई र सेतो गिद्ध चार फेला परेका छन्।

 

प्रतिक्रिया दिनुहोस्