देशलाई अझै केपी ओलीकै खाँचो छ : मन्त्री साह



सिमरा । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले देशलाई अझै प्रधानमन्त्री केपीशर्मा ओलीको खाँचो रहेको बताएकी छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृह जिल्ला बारा आएकी मन्त्री साहले प्रधानमन्त्री ओलीबिना देशको समृद्धि कल्पना गर्न नसकिने बताइन् । राम्रो काम गरिरहेको बेला प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने र असफल बनाउने षडयन्त्र भइरहेको मन्त्री साहको दाबी छ ।
‘राम्रो काम गरेकै कारण चारैतिरबाट प्रधानमन्त्री घेराबन्दीमा पर्नुभएको छ’ सिमरामा आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री साहले भनिन् ‘आफू पनि केही नगर्ने र अरुलाई पनि काम गर्न नदिने घेराबन्दीबाट प्रधानमन्त्रीलाई जोगाउनुपर्छ ।’ प्रधानमन्त्रीमाथी ज्यान मार्ने धम्की आएको भन्दै मन्त्री साहले यस्तो गलत प्रवृतिको सधै विरोध गर्नुपर्ने बताइन् ।
नेकपा एमाले प्रदेश २ कि अध्यक्षसमेत रहेकी साहले प्रचण्डलाई आफूले नभई प्रचण्डले आफूलाई छोडेर गएको बताईन् । पार्टी एकताले मान्यता नपाएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टिदै गर्दा साहले एमाले रोजेकी थिइन् । साहले एमाले राजेपछि माओवादी केन्द्रले उनलाई प्रदेश २ सभा सदस्य पदबाट समेत हटाएको थियो ।
प्रदेश सभा सदस्य पद गुम्ने निश्चित भएपनि एमाले रोजेकी साहले प्रचण्ड गुटगत राजनीति र परिवारवादमा रमाउन खोजेको बताइन्। प्रचण्डले मुल घरमा आफूलाई ल्याएर राखेको र आफूले भने छाडेर गएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्