गण्डकी प्रदेशको नीति तथा कार्यक्रम



पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना विरुद्धको खोपलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ । संघ सरकारले गर्ने खोप व्यवस्थापनमा प्रदेश सरकारले पनि समन्वय गर्ने नीति तथा कार्यक्रममा समेटेको छ ।
सोमबार आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम ल्याउँदै प्रदेश सरकारले कोरोना संक्रमण कम गराउन खोप नै अत्यावश्यक भएकोले प्राथमिकता दिएको बताएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीता कुमारी पौडेलले कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री र उपकरण खरिद गर्ने पनि नीति लिइएको जानकारी दिईन ।
कोरोना संक्रमणका कारण अभिभावक गुमाएका बालबालिकालाई नगद राहत उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै कोरोना संक्रमितको उपचारको क्रममा कुनै स्वास्थ्यकर्मीको ज्यान गएमा उनीहरुका आश्रित परिवारलाई पनि राहत दिने नीतिमा समेटिएको छ । कोरोनाका कारण उत्पादन तथा रोजगारी गुमाएको अवस्थामा रोजगारी सिर्जना गर्ने गरि व्यवसायलाई पुरानै लयमा फर्काउन निव्र्याजी कर्जा उपलब्ध गराउन जीवन रक्षा कोषलाई निरन्तरता दिने पनि नीतिमा समेटिएको छ ।
लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल स्तरोन्नती गर्दैै सुविधा सम्पन्न बनाउने तथा त्यसलाई कोरोनाको मात्र नभई अन्य सरुवा तथा संक्रामक रोगका लागि पनि विशेष अस्पताल बनाईने पनि नीतिमा समेटिएको छ । त्यसैगरि गर्भवती र सुत्केरीको घरघरमा स्वास्थ्यकर्मी पठाएर परीक्षण गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्