महोत्तरी, सर्लाही र रसुवामा एक साता निषेधाज्ञा थप



काठमाडौं । प्रदेश २ को महोत्तरी र सर्लाहीमा पनि पुनः एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । सोमबार जिल्ला कोभिड व्यवस्थापन समिति महोत्तरीमा बसेको बैठकले असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा लगाइएको छ भने निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका बन्द रहने जनाइएको छ ।
त्यस्तै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सर्लाहीले समेत एक साता निषेधाज्ञाका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जिल्लामा कोभिड संक्रमणको जोखिमको अवस्था समीक्षा गर्दा कोभिड संक्रमण र मृत्युदर पूर्ण नियन्त्रणमा नआएकोले असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको बताए ।
यसैगरी, रसुवामा थप ७ दिन निषेधाज्ञा जारी हुने भएको छ । जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो ।

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय सोमबार राति १२ बजेबाट सकिँदै थियो । डिसिसिएमसीको सोमबार बसेको बैठकले असार ७ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्