सरकारले छान्यो १०० नयाँ पर्यटकीय गन्तब्य



काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि एक सय वटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप एक सय वटा नयाँ गन्तव्य छनोट गरेको हो ।

मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायका अनुसार नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढीको आवेदन परेको थियो । आवेदन परेका गन्तव्य तथा प्रदेश र स्थानीय सरकारले दिएको सुझाव र मन्त्रालयले गरेको अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट भएको उपाध्याय बताउँछन् । नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले ५ आधार तय गर्दै भदौमा सूचना प्रकाशन गरेको थियो ।

सरकारले निजी क्षेत्रको सहकार्यमा गन्तव्य स्थानको विकास गरिने मन्त्रालयले जनाएको छ । नयाँ एक सय गन्तव्य छनोट कार्यले सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग पुगोस् भनी यो योजना अगाडि सारेको मन्त्रालयको भनाई छ । 

सरकारले बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

सय पर्यटकीय गन्तव्य छनोट गर्दा सय वर्ष पुराना पुरातात्विक सम्पदालाई सबैभन्दा बढी प्राथमिकता दिइएको सहसचिव उपाध्यायले बताए । नेपालको संस्कृति सम्पदाको संरक्षणमा समेत यसले सहयोग र्पुयाउने मन्त्रालयको ठहर छ । साथै, सरकारले पुरातात्विक सम्पदाको संरक्षणमा पनि विशेष ध्यान दिन लागेको उपाध्यायले दाबी गरे । 

यसैगरी, गन्तव्य छनोटमा ५ वर्ग किलोमिटर वा सोभन्दा बढी क्षेत्रफलमा फैलिएका तालतलैया वा पोखरी भएको ठाउँलाई समेत आधार मानिएको छ । चर्चित पर्यटकीय गन्तव्य तर भौतिक पूर्वाधार र सेवासुविधाले पछाडि परेको ठाउँलाई पनि पाँच आधार भित्र राखिएको छ । पर्यटकीय स्थलको भौतिक पूर्वाधार विकास र गुरुयोजना तयार भए पनि कार्यान्वयन हुन नसकेको आधारमा पनि पर्यटकीय गन्तव्य छनोट हुने उनको भनाइ छ । 

हाल नेपालमा वार्षिक १० लाख पर्यटक आउने गरेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्