नीति तथा कार्यक्रमको विपक्षमा मत दिने एमालेको निर्णय



सुर्खेत : कर्णालीमा नेकपा एमालेले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा आज पारित गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

चार सांसदको पुनर्बहालीपछि बसेको आजको बैठकमा माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला पनि सहभागी थिए । सर्वोच्चको आदेशबाट प्रकाश ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा प्रदेशसभा सदस्यको हैसियतमा पुनर्बहाली भएका थिए । माओवादी नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा आज निर्णयार्थ पेश हुँदैछ भने त्यसलाई एमालेले विफल बनाउने रणनीति बनाएको हो । तर माधव नेपाल पक्षका सांसदहरुको भूमिका निर्णायक हुन्छ ।

उनीहरुकै फ्लोरक्रसले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यसअघि विश्वासको मत पाएको अवस्थामा नीति तथा कार्यक्रम पारित गराउन पनि उनीहरुकै भूमिका निर्णायक हुने भएको हो । आज बैठकमा सहभागी भएका ज्वालाले विपक्षमा मतदान गर्ने बैठकमा जानकारी गराएको प्रमुख सचेतक गुलाबजङ्ग शाहको दावी छ । ३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्‍याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने दाउमा एमाले देखिएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री शाहीलाई परिवर्तन गरी आफ्नै नेतृत्वमा सरकार बनाउने दाउमा पुनः लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्