गण्डकीको नीति तथा कार्यक्रम पारित, बजेट पनि आउँदै



पोखरा : गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार छलफल गरी पारित गरिएको हो ।

सरकारले स्वास्थ्य कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम पेश गरेको थियो । नीति कार्यक्रममाथिको छलफलमा सबै दलका सांसदले भाग लिएका थिए । सत्ता पक्षका सांसदहरुले सरकार गठन भएको छोटो अवधिमा बनाइएको नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजे पनि कतिपय छुटेकामा बजेटमा समावेश गरेर अगाडी बढ्ने बताए ।

प्रतिपक्षका सांसदहरुले पहिलाका नीति तथा कार्यक्रमहरुलाई प्राथमिकतामै राखेर अगाडि बढ्न सरकारलाई सुझाव दिएका थिए । छलफलमा उठेका विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जवाफ दिदै नीति तथा कार्यक्रम सरकारले कार्यान्वयनमा लैजाने बताए । उनले सरकार निर्माणका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै आगमी दिनमा पनि सहयोगको अपेक्षा गरे । सरकारले आजै बजेट ल्याउँदै छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा आफै बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

गण्डकी सरकारले संघिय सरकारबाट अघिल्लो वर्ष ३४ अर्ब हाराहारीको बजेट पाएको थियो । संघीय सरकारबाट सबैभन्दा कम १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ अनुदान पाएको गण्डकी सरकारको लागि क्रमागत योजनाको लागि मात्रै १४ अर्बभन्दा बढी रकम आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्