युरोकप : आज फ्रान्स–जर्मनी र पोर्चुगल–हंगेरी भिड्ने



काठमाडौं । युरोकप फुटबलमा मंगलबार दुई खेल हुँदै छन् । नेपाली समयअनुसार समूह ‘एफ’अन्तर्गत पोर्चुगल र हंगेरीबीच राति पौने १० बजे खेल सुरु हुने छ ।
पौने १ बजे सुरु हुने खेलमा पछिल्ला दुई विश्वकपका च्याम्पियनहरु जर्मनी र फ्रान्स भिड्दैछन् । पोर्चुगल प्रतियोगिताको साविक विजेता हो । गत संस्करणको फाइनलमा पोर्चुगलले फ्रान्सलाई १–० गोलले हराएको थियो ।
पहिलो हाफमा चोटका कारण बाहिरिएका कप्तान क्रिष्टियानो रोनाल्डो फेरि एकपटक उपाधि जित्ने प्रयाशमा हुनेछन् । रोनाल्डो सक्रिय खेलाडीमध्ये सबैभन्दा बढि अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । उनले एक सय ४ गोल गरेका छन् ।
हंगेरी ११ खेलयता अपराजित छ । यसबीचमा उसले ७ जित र चार बराबरीको नतिजा निकालेको छ । तर उसले हालसम्म पोर्चुगललाई हराउन सकेको छैन ।
हंगेरीले अन्तिमपटक, गत अगष्टमा रुससँग ३–२ गोलले हार ब्यहोरेको थियो । पोर्चुगलविरुद्ध भएका १३ खेलमा ९ हार र चार बराबरीको नतिजा निकालेको छ ।
पोर्चुगलले ६ खेलयता हार ब्यहोरेको छैन । यसबीचमा उसले चार जित र दुई बराबरीको नतिजा निकालेको छ । अन्तिमपटक हारेको फ्रान्ससँग थियो, गत नोभेम्बरमा भएको नेसन्स कपको खेलमा १–० गोलले ।
नेपाली समयअनुसार मध्यरातमा सुरु हुने अर्को खेलमा फ्रान्स र जर्मनी दुवै जित हात पार्ने प्रयाशमा हुनेछन् । फ्रान्स गत संस्करणको उपविजेता र विश्वकपको साबिक विजेता हो । उसले पछिल्ला सात खेलयता हार ब्यहोरेको छैन जसमा ६ जित र एक बराबरीको नतिजा निकालेको छ ।
गत नोभेम्बरमा फिनल्यान्डसँग २–० गोलले पराजित भएयता फ्रान्सले हार ब्यहोरेको छैन । जर्मनीले पछिल्ला ६ खेलमा ३ जित, २ हार र एक बराबरी खेलेको छ । पछिल्लो खेलमा उसले लाट्भियालाई ७–१ गोलले हराएको थियो ।
जर्मनीले पाँच खेलयता फ्रान्सलाई हराउन सकेको छैन । उसले अन्तिमपटक सन् २०१४ को विश्वकपमा फ्रान्सलाई हराएको थियो । यसबीचमा यी दुई टोलीबीच भएका खेलमा फ्रान्सले तीन जित र दुई बराबरीको नतिजा निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्