मुस्ताङको लुप्रा बस्ती उच्च जोखिममा, मनाङमा दुईवटा बस्ती डुबानमा



काठमाडौं । मनसुन सुरु भएसँगै अबिरल वर्षाका कारण मुस्ताङको उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमी सडक मंगलबार बिहानदेखि अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आएको बाढी–पहिरो र नदी कटानले बेनी–जोमसोम सडकको आधा दर्जन स्थानमा सडक अवरुद्ध भएको हो ।
सोमबार रातिको बाढीले बेनी—जोमसोम सडकको मुस्ताङ खण्डको घरपझोङ–२ मार्फा खोलाको बाहव उच्च हुँदा त्यहाँको सडक संरचना पूर्णरुपमा क्षति पुगेको छ भने त्यहाँ राखिएको पैदलयात्री र मोटरसाइकल आवतजावत गर्ने अस्थायी पुल समेत बगाएको छ ।
बेनी–जोमसोम सडकको मुस्ताङ खण्डमा पर्ने थासाङ गाउँपालिका–४ कैकु खोला , लेते खोला र मिसी खोलालगायतमा सोमबार रातिको बाढीले सडक घ्वस्त भएको छ । यस्तै बेनी—जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको काभ्रेभीर सडकमा पहिरो जाँदा अन्दाजी २० मिटर सडक भाँसिन पुगेको छ ।
बाढी—पहिरोले बेनी—जोमसोम सडक अवरुद्ध भएपछि बेनी—जोमसोम सडकको सिधा यातायात सम्पर्क बिच्छेद बनेको छ । सडक अवरुद्ध भएसँगै म्याग्दीबाट मुस्ताङ र मुस्ताङबाट म्याग्दीतर्फ जाने मालवाहक सवारी साधन गन्तव्यमा पुग्न नसकीबीच बाटोमै अलपत्र परेका छन् ।
बर्सेनि वर्खायाममा लुप्रा खोलामा बाढी आउँदा त्यहाँका रहेको बस्ती जोखिममा पर्ने गर्छन । बस्ती संरक्षणका लागि संघ तथा प्रदेश सरकारले बस्ती संरक्षण तटबन्ध दिगो नहुँदा लुप्रा बासीले बर्खायाममा जोखिम मोलर बस्नु पर्ने बाध्यता छ ।
मनाङको चामे बजार र ताल गाउँ अविरल वर्षा र बाढीका कारण डुबानमा परेका छन् ।
मस्र्याङ्दी नदी छेउमै रहेका यी बस्तीका केही घर बाढीले बगाउन सक्ने जोखिम रहेको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् । नदी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ५० घर डुबानमा परेका छन् भने अरु केही घर पनि जोखिममा रहेको बताइउको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार बाढीका कारण स्थानीयहरु विस्थापित भएका छन् । उनीहरुलाई अर्को व्यवस्था नभएसम्म सदरमुकामस्थित सरकारी भवनमा राखिएको प्रजिअ लामिछानेले बताए ।
बाढीले तिमाङ खोलाको पुल र लघु जलविद्युत गृह समेत बगाएको स्थानीयहरुले बताए । जसले गर्दा यस क्षेत्रमा अहिले बिजुली बत्तीको आपूर्ति ठप्प भएको बताइएको छ ।
गुल्मीमा दुई घर भत्किए
लगातार तीनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको इस्मा गाउँपालिका –५ स्थित मैदानमा राजेश परियारको घर भत्किँदा एक महिला घाइते भएकी छिन् ।
बन्दै गरेको घर भत्किएर राजेशकी श्रीमती २९ वर्षीया जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यस्तै, सोही गाउँपालिका–१ स्थित उजुङ्गका छत्रबहादुर पछाईको घर पहिरोले भत्किएको छ । घरमाथिबाट पहिरोसहित खसेको ढुंगाले घरमा पूर्णरुपमा क्षति पुगेको ईस्मा गाउँपालिकाले जनाएको छ । परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।
लगातारको वर्षाका कारण जिल्लाका दर्जनबढी सडक अवरुद्ध भएका छन् ।

धेरै भारी वर्षा हुने सम्भावना
देशभर मनसुनी गतिविधि मंगलबार थप सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन् ।
यो मौसमी प्रणालीका कारण मंगलबार दिउँसो र राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ ।
यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केही क्षेत्रमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्