उपेन्द्र यादवले बोलाए जसपा केन्द्रीय कार्यकारिणीको बैठक



काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएका छन् । पार्टीभित्र उत्पन्न विवादका विषयमा छलफल गर्न र महत्वपूर्ण निर्णय लिनका लागि बैठक बोलाइएको कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
पार्टीभित्रको विवादबारे छलफल गर्नका लागि र सरकारमा सहभागी नेताहरूलाई सोधिएको स्पष्टिकरणबारे निर्णय गर्नका लागि कार्यकारिणी बैठक बोलाइएको राईले बताए । असार ३ गते बिहीबार बिहान साढे ११ बजे बैठक बोलाइएको छ ।
बैठकमा अध्यक्ष महन्थ ठाकुर पक्षका सदस्यहरूलाई पनि बोलाइएको तर उनीहरू उपस्थित हुने कि नहुने भन्ने यकिन भइनसकेको अर्का एक कार्यकारिणी समिति सदस्यले बताए ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा बहुमत उपेन्द्र यादवको पक्षमा छ । बहुमत सदस्यको निर्णयले जसपाबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्ललगायतलाई कारबाही गरिएको थियो । तर उक्त कारबाहीलाई निर्वाचन आयोगले अस्वीकृत गरेपछि जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्