मनाङको मस्र्याङ्दी नदीमा भीषण बाढी



पोखरा । अविरल वर्षाका कारण गण्डकी प्रदेशमा सबैभन्दा बढी मनाङ जिल्ला प्रभाविन बनेको छ । मंगलबार बिहानैदेखि मनाङ सदरमुकाम चामेदेखि जिल्लाको नासो गाउँपालिकाको तालगाउँमा बाढी आएको छ । मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङमा ठूलो क्षति भएको छ ।
बाढीले बुधबार मनाङको नासो गाउँपालिकाको कार्यालय, नासो गाउँपालिकामै रहेको इलाका प्रहरी कार्यालय, प्रभु बैंक, प्राइम कमर्सियल बैंकको भवनसमेत बगाएको छ । यस्तै, पाँचवटा होटेल पनि बगाएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।
मस्र्याङदी नदीमा पानीको बहाव बढेका कारण सयौँ बासिन्दा विस्थापित भएका छन् । चामे गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठका अनुसार बाढीका कारण त्यहाँका स्थानीय कोही आफन्तको शरणमा छन् त कोही जंगलमा अलपत्र परेका छन् ।
स्थानीय प्रशासनले जिल्ला कारागारको नवनिर्मित भवनमा बजारका बासिन्दालाई उद्धार गरेको छ । तर, यार्सागुम्बा टिप्ने सिजन पनि भएका कारण कतिपय मानिस जंगलमा नै अलपत्र परेको हुन सक्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
मनाङका प्रहरी प्रमुख डीएसपी सुवा खड्काका अनुसार चामे र नासो गाउँपालिकामा गरी करिब २०० घरधुरीका झन्डै एक हजारजना मानिस विस्थापित भएका छन् ।
सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका–१, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत्गृह पनि बगाएको छ । त्यस्तै, सदरमुकाम चामेमा चारवटा घर बाढीले बगाएर क्षति पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्