गोली प्रहार गरी सुनचाँदी पसलमा लुटपाट, ५ जना घाइते



महोत्तरी : महोत्तरीमा गोली प्रहार गरी लुटेराहरूको एक समूहले गोली प्रहार गरी लाखौं लुटपाट गरेका छन् । सम्सी गाउँपालिका १ स्थित पर्सा बजारमा गएराति १० जनाको संख्यामा रहेका एक समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा हातहतियार पड्काउँदै लुटपाट गरेका हुन् ।

लुटपाटका क्रममा लुटेराहरूको समूहले चलाएको गोलीबाट राजीव ज्वेलर्सका संचालक वीरेन्द्र साहसहित उनको परिवारका सदस्यहरु घाइते भएका छन् । गोली लागेर पसल संचालक ५० वर्षीय वीरेन्द्र साह घाइते भएका छन् । उनलाई कम्मरमा गोली लागेको महोत्तरी प्रहरीले जनाएको छ ।

उनको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरानस्थित अस्पतालमा रिफर गरिएको महोत्तरी प्रहरीले जनाएको छ । त्यस्तै लुटेराहरूले रड प्रहार गरी घाइते साहको श्रीमती ४५ वर्षीय सुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह घाइते रहेको महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जनाएको छ ।

लुटेराहरूले रड प्रहारबाट घाइते भएकाहरुको टाउको, मुख र शरीरको विभिन्न भाग चोटपटक र गहिरो घाउ लागेको छ । घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको जनाइएको छ ।

सम्सी गाउँपालिका १ स्थित पर्सा बजारदेखि २०० मिटर उत्तर सम्सी गौशाला सडक खण्ड पश्चिममा रहेको साहले घरमै संचालन गरेको सुनचाँदी पसलमा मध्यरातमा लुटेराहरूले गोली प्रहारसँगै लुटपाट समेत गरेका थिए । लुटेराहरू घरको पछाडिबाट पर्खाल नाघी घरभित्र प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्