जनकपुरधाममा कोभिड विशेष अस्पताल सञ्चालन



जनकपुरधाम : प्रदेश २ सरकारले जनकपुरधाममा सय शय्याको विशेष कोभिड अस्पताल संचालनमा ल्याएको छ। जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहिन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पताल संचालनमा ल्याएको हो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संञ्चालन हुने कोभिड विशेष अस्पतालको आज एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उदघाटन गरेका छन् । गत एक वर्ष देखि उक्त भवनमा कोभिड विशेष अस्पताल संचालन गर्न प्रयास भइरहेको थियो तर विभिन्न अवरोधहरुका कारण सञ्चालन हुन सकेको थिएन ।

उदघाटनका क्रममा मुख्यमन्त्री राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरुको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरु पनि छिट्टै शुरु गर्ने बताए । शिक्षण अस्पताल संचालनका लागि सरकारबाट जग्गा लिजमा लिएको मणिपालले लामो समय बितिसक्दा समेत अस्पताल संचालन गर्न नसकेपछि उसको लिज खारेजी गराई जग्गा प्रतिष्ठान मातहत ल्याउने पहल शुरु भईसकेको जानकारी समेत उनले गराए । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री राउतले भने,‘ यस भवनमा कोरोना संक्रमितको उपचार मात्र होइन, अन्य विशेषज्ञ सेवा समेत चाडै शुरु हु्न्छ । जग्गा प्राप्तीको प्रक्रिया चाडै शुरु गर्छौ, राज्यको अरबौको सम्पति कुनै संस्थाले यसरी राख्न पाउदैन ।’

सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश सरकारको गौरवको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गरे । स्थापनाको छोटो समयमै चार विधामा शिक्षणको अनुमति प्राप्त गरेको प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि विपिएच, बिएन, विएमएलटी लगायतको अध्यापन शुरु गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्