मटिहानीका किसानलाई कृषि सामग्री वितरण



महोत्तरी : मटिहानी नगरपालिकाले किसानलाई अत्यावश्यक कृषि सामग्री वितरण गरेको छ । जिल्लाकै उत्कृष्ट तरकारी पकेटक्षेत्रका रुपमा मानिएको मटिहानी–६ का किसानलाई आज नगरप्रमुख हरिप्रसाद मण्डलले कृषि सामग्री वितरण गरेका हुन् ।

खेतीको मुख्य बेला जिल्लामा कोभिड–१९ सङ्क्रमण छल्न जारी निषेधाज्ञाबीच कृषि सामग्री लिन बजार जान नसकेका किसानलाई यो कार्यक्रमले राहत दिएको छ । नगरपालिकाले नेपाल सरकारको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पैकेट) विकास कार्यक्रमअन्तर्गत गटोर, स्पेयर्स, हजारी जैविक मल, जैविक किटनाषक औषधि (विषादी), कृषि चुन, बीउविजनसहितका कृषि सामग्री किसानलाई प्रदान गरेको हो ।

बस्तीका व्यवसायिक रुपमै तरकारी खेती अपनाएका ३० जना किसानलाई पहिलो चरणमा सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
किसानलाई खेती कार्यमा सहज र उत्प्रेरित गराउन यो कार्यक्रम प्रभावकारी हुने नगरपालिकाको कृषि शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले बताए । यो कार्यक्रमले निरन्तरता पाउने शाखाले जनाएको छ । महाव्याधिले जकड्याएर कृषि सामग्री ल्याउन कतै निस्कन नसकेका बेला प्राप्त सामग्रीले खेतीपातीको काम अघि बढाउन राहत मिलेको किसानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्