मनाङको सबै गाउँमा मोबाइल सेवा



मनाङ : हिमाली जिल्ला मनाङको विकट फू गाउँमा नेपाल टेलिकमले जीएसएम सेवा विस्तार गरिएको छ । सो गाउँमा जीएसएमको टावर निर्माण गरी सेवा दिइएपछि मनाङको सबै गाउँमा मोबाइलको पहुँच पुगेको छ ।

मनाङमा मोबाइल सेवा सञ्चालनमा आएको १२ वर्षपछि सबै गाउँमा सेवा विस्तार भएको नेपाल टेलिकम मनाङले जनाएको छ । सबैभन्दा पहिले सदरमुकाम चामेमा मोबाइल सेवा सञ्चालनमा आएको थियो । अब मनाङको साविकका १३ वटै गाविसमा सेवा विस्तार भएको टेलिकमले जनाएको छ । समुद्री सतहबाट ४ हजार २ सय मिटर उचाइको हिमाली भेग फू गाउँमा भिस्याट लिंकबाट जडान गरी मोबाइल सेवा संचालनमा ल्याइएको हो ।

टेलिकम मनाङका कार्यालय प्रमुख ङिमाङिटु लामाका अनुसार उक्त मोबाइलको टावरले नजिकै देखिने नामजुङ पिक (७१४० मिटर) र हिमलुङ हिमाल (७१२० मिटर) बेसक्याम्पसम्म काम गर्नेछ । उनका अनुसार उक्त टेलिफोन टावरले माथिल्लो मुस्ताङ प्रवेश गर्ने सालेबुङ पास, नारगाउँ प्रवेश गर्ने लोउङ पास तथा तिब्बत प्रवेश गर्ने केङछिमी पाससम्म सम्पर्क स्थापित गर्छ ।

नार्पाभूमि गाउँपालिका ४ र ५ फू गाउँको टासी लखाङ गुम्बा परिसरमा राखिएको टावरले सिधा हवाइ दुरी ५ किलोमिटरसम्म नेटवर्क प्राप्त गर्ने टेलिकमका प्राविधिकह?ले बताए । रिपिटर टावरको रेडियो लिंक तथा अप्टिकल फाइबरबाट सम्भव नभएपछि फू गाउँमा स्याटलाइट लिंक प्रयोग गरिएको टेलिकम प्रमुख लामाले बताए । अहिले फू गाउँमा उत्पादित विद्युतबाट उक्त टेलिफोन टावर संचालन गरिएको र अर्को वर्ष सोलार राख्ने तयारी भइरहेको उनले बताए ।

मोबाइल सेवा सुरु भएपछि फू गाउँका बासिन्दा खुसी भएका छन् । सो गाउँमा करिब ५५ घरधुरी छ । नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाका अनुसार यसअघि गाउँभरीका लागि २ वटा भिस्याट टेलिफोन थियो । हिउँ पर्दा र साँझबिहान त्यसले काम नगर्ने समस्या थियो ।

मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको पहलमा फू गाउँमा मोबाइलको टावर संचालनमा आएको हो । उक्त मोबाइल टावरको उद्घाटनमा फू गाँउ पुगेका सांसद गुरुङले चुनावमा गरेको बाचा पुरा गरेको बताए । 

सदरमुकाम चामेबाट २ दिनमा पुगिने फू गाउँ जानका लागि हालसम्म मोटरबाटो छैन । यसका लागि प्रदेश सरकारले ५ करोड विनियोजन गरेको उनले बताए । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले मोबाइल टावरको उद्घाटन गरेका हुन् । मन्त्री बास्कोटाले मोबाइल सेवा नपुगेको ठाउँमा सकेसम्म यसैवर्ष नभए अर्को वर्षसम्म पुर्‍याइने बताए ।

 

प्रतिक्रिया दिनुहोस्